इसाईहरुका धर्मगुरु पोप वेनेडिक्ट १६ औं ले क्रिसमसको व्यवसायीकरण भएको भन्दै आलोचना
पौष ११ गते, २०६८ मा प्रकाशित
इसाईहरुका धर्मगुरु पोप वेनेडिक्ट १६ औं ले क्रिसमसको व्यवसायीकरण भएको भन्दै आलोचना गर्नुभएको छ ।
क्रिसमसको पूर्व सन्ध्यामा रोमको सेन्ट पीटर बैसेलिकामा आयोजित सभामा उहाँले क्रिसमसमा तडकभडकबाट टाढै रहन आह्वान गर्नुभयो ।
जिससको जन्मकहानीमा ध्यान केन्द्रित गरी वास्तविक आनन्द र प्रकाशको खोजी गर्न पोपले आग्रह गर्नुभएको छ । पोपले विश्वमा बढिरहेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै गरिबी र अभावको जिन्दगी बांचिरहेकाप्रति प्रार्थना गर्नुभयो ।
यसैबीच क्रिसमसका अवसरमा विश्वका विभिन्न भागबाट १ लाख २० हजारभन्दा बढी मानिस प्यालेष्टाइनको पश्चिमी किनारामा भेला भएका छन् ।
उनीहरुले इजरायल र प्यालेष्टाइनबीच शान्तिको कामना गरेका छन् । इसाई धर्मका प्रणेता जिसस क्राइष्ट प्यालेष्टाइनको पश्चिमी किनारास्थित बेथलहममा जन्मिएको विश्वास गरिन्छ । बेथलहममा जिसस क्राइष्टको जन्मस्थल मानिएको १७ हजार पुरानो चर्च पनि छ ।