मलेसियामा हत्या अभियोगमा पक्राउ परेका अर्घाखाँचीका सुरजको फैसला २८ गते

रामचन्द्र नेपाल-मलेसिया(क्वालालम्पुर) पुष ११- भारतीय मुलका मलेसियन नागरिक रानीएपि मुनुसामिको हत्या अभियोगमा पक्राउ परेका अर्घाखाचीका सुरजवहादुर सुनारको फैसला पुष २८ गते हुने भएको छ । सेलाङर राज्यको उच्च अदालतमा उपस्थित भएर सुनारले आफना कुरा राखेपछि उनको फैसला पुष २८ मा हुने भएको हो ।


 
नेपालमा रहँदा मानसिक सन्तुलन गुमाएका सुरजको उपचार गरिसकेका मानसिक अस्पताल पाटनका डा.सुरेन्द्र शेरचनले अदालतमा उपस्थित भएर सुनारको बारेमा वयान दिनु भएको छ । डाक्टरको वयान पछि सुनारको पक्षमा फैसला हुने आशा पलाएको कानुनविदहरुले बताएका छन् ।


मलेसियाको कानुन अनुसार हत्या गर्ने अभिप्रायले कसैको हत्या गरेको हो भन्ने देखिन आएमा मृत्युदण्ड हुने छ । आफ्नो बचाउको लागि हत्या भएको हो भन्ने देखिन आएमा भने जन्मकैदको सजाय हुने व्यवस्था छ ।  सेलाङगरको क्वालाकुवुवारु नजिकै साढे दुई वर्ष अगाडि मुनुस्वामिको हत्याको अभियोगमा सुनार समातिएका थिए । दुई दिन सम्मको वहसमा सुनारले पनि वचाउको निम्ति आफना कुराहरु राखेका थिए ।


सुनारको घर अर्घाखाँची भएको बताइए पनि अन्य जानकारी भने प्राप्त भएको छैन।