सिरियामा हिंसात्मक प्रदर्शनकाबीच अरब लीगका पर्यवेक्षकहरुले विभिन्न शहरमा अनुगमन गरिरहेका छन् । शान्ति योजनाको अनुगमनका लागि सिरियामा अहिले ५० भन्दा बढी सदस्यीय अरब लीगको टोली क्रियाशिल छ । दोस्रो पटक होम्स् शहर पुगेको अनुगमनकर्ताले स्थानियबासीको विरोधको सामना गर्नु परेको बताइएको छ । अघिल्लो दिन मात्र अनुगमनकर्ताहरुले सिरियामा कुनै भयावह स्थिति नदेखेको जनाएका थिए जसका कारण प्रदर्शनकारी र पश्चिमा पर्यवेक्षकलाई निराश पारेको थियो ।
हिजो मात्रै होम्स् , हमा लगायतका शहरमा भएको प्रदर्शनमा १० भन्दा बढी मानिस मारिएका छन् । प्रदर्शनकारीहरुले अरब लीगका पर्यवेक्षक आएपछि मात्रै ४० जना मारिएको दाबी गरेका छन् । अनुगमनकर्ताहरुले सिरिया सरकारले सेनालाई सडकबाट फर्काउने, बन्दीहरुलाई रिहा गर्ने विषयमा गरेको सहमतिको अनुगमन गर्ने छन् । यसैबीच सिरियाका राष्ट्रपति बशार अल असादको शासन विरुद्ध भैरहेको प्रदर्शनका क्रममा पक्राउ परेका ७ सय ५५ जना रिहा भएका छन् ।
संयुक्त राष्ट्रसंघले सिरियामा मार्च यताको प्रदर्शनमा करिब १४ हजार मानिस पक्राउ परेको जनाएको छ ।