नाइजेरियामा श्रृंखलाबद्ध आक्रमणपछि आपतकालीन स्थितिको घोषणा

नाइजेरियामा क्रिसमसका दिन इस्लामिक लडाकु समुह बोको हरामले गराएको श्रृंखलाबद्ध आक्रमणपछि राष्ट्रपति जुडलक जोनाथनले मुलृुकका केही भागमा आपतकालीन स्थितिको घोषणा गर्नुभएको छ । घोषणा लगत्तै उत्तरी क्षेत्रको योवे र बोर्नो, प्लेटिए र पश्चिमको नाइजर राज्यमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

 

आपतकालीन घोषणापछि नाइजेरियाको अन्तर्राष्ट्रिय सीमा अस्थायी रुपमा बन्द गरिएको छ । नाइजेरियालाई इस्लामिक राष्ट्र घोषणा गर्नुपर्ने, मुलुकमा सरिया कानुन लागु गर्नुपर्ने लगायतका माग राखी सशस्त्र संघर्ष गर्दै आएको छ । यसैबीच नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रमा भड्किएको जातीय हिंसामा ५० भन्दा बढी मानिस मारिएका छन् । स्थिति नियन्त्रणमा लिन त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय इज्जा र ईजिलो समुदायबीच जारी भूमि विवादका क्रममा हिंसा भड्किएको बताइएको छ । खेती मुख्य पेशा रहेको त्यस क्षेत्रमा दुवै समुदायबीच लामो समयदेखि भूमि विवाद रहेको छ ।