जापानमा आज बिहान ७ रेक्टर स्केलको भूकम्प गएको छ । जापानीहरु नयाँ वर्ष मनाइरहेका बेला भूकम्प गएको हो । स्थानीय समयअनुसार दिउँसो २ बजेर २८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको जापान मेट्रोलोजिकल एजेन्सीले जनाएको छ ।
समुन्द्री सतहभन्दा ३ सय ७० किलोमिटरसम्म धक्का महसुस गरिएको समाचारमा जनाइएको छ । भूकम्पको केन्द्र राजधानी टोकियोभन्दा ५ सय ६० किलोमिटर उत्तरपश्चिम क्षेत्रको समुन्द्री टापुमा थियो । राजधानी टोकियोमा भवनहरु हल्लिएको थियो ।
जापानका विभिन्न स्थानमा रेलवे सेवा बन्द गरिएको छ । सुरक्षाको अवस्था पहिचान भएपछि मात्र रेल चल्ने हुने बताइएको छ । उर्जा केन्द्रहरुमा भूकम्पले कुनै असर नपरेको बताइएको छ । भूकम्पबाट भएको भौतिक र मानवीय क्षति आएको छैन । भूकम्पछि सुनामीको चेतावनी पनि दिइएको छैन । गत मार्चमा जापानमा गएको भूकम्पमा करिव २० हजारको मृत्यु भएको थियो भने लाखौं घरबारविहीन भएका थिए । मार्चमा गएको सुनामी र भूकम्पले धक्का पु-याएको आणविक केन्द्र पनि सुरक्षित रहेको एनएचके टेलिभिजनले जनाएको छ ।