वरिष्ठ खेलकुद पत्रकार ईश्वरमान सिंहको ७५ वर्षको उमेरमा निधन

काठमाडौं – वरिष्ठ खेलकुद पत्रकार ईश्वरमान सिंहको ७५ वर्षको उमेरमा सोमवार बिहान निधन भएको छ। उनको उपचारको क्रममा त्रिपुरेश्वरस्थित ब्लुक्रश नर्सिङ होममा निधन भएको हो। लामो समयदेखि पक्षघातबाट पीडित सिंहलाई दुई बर्ष अगाडि ब्रेन स्ट्रोक भएको थियो।

केही साताअघि अचानक बेहोस भएपछि उपचारार्थ अस्पताल पुर्‍याइएका सिंहको शरीरको बायाँ भागमा पक्षघात भएको थियो।

नेपालको पत्रकारिता क्षेत्रमा लामो समयदेखि समर्पित सिंह नेपाल- दक्षिण एसियाली खेलकुद पत्रकार संघका संस्थापक अध्यक्ष थिए।


पत्रकार सिंहले राष्ट्रिय समाचार समिति (रासस)को प्रबन्ध सम्पादकको रुपमा समेत काम गरेका थिए।

उनको ८ छोरी, २ छोरा र श्रीमती छन्।


उनको आजै कंकेश्वरीस्थित लखुतीर्थ घाटमा दाहसंस्कार गरिएको छ।


यसैबीच, नेपाल पत्रकार महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद पत्रकार संघ र नेपाल खेलकुद पत्रकार मञ्चले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। -रासस