सिरियामा भगौडा सैनिकहरुले राष्ट्रपति बशार अल असाद समर्थक १८ सैनिकको हत्या गरेका छन् । भगौडा सैनिकले राष्ट्रपति असाद समर्थक सैनिकको हत्या गरेको सिरियन अब्जभेटरी फर ह्युमन राइट्सले जनाएको हो । सिरियाको दक्षिणी शहर जासिममा भगौडा सैनिकले राष्ट्रपति समर्थक सैनिकको हत्या गरेका हुन् ।
यसैबीच ,फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले सिरियाली राष्ट्रपति असादलाई नरसंहारकारीको संज्ञा दिनु भएको छ । असादले नागरिकविरुद्ध दमनकारी नीति अपनाएको भन्दै सार्कोजीले तत्काल सच्चिन सचेत तुल्याउनु भएको छ । असादविरुद्ध फ्रान्स मात्रै नभई युरोप, अरब मुलुक र विश्वका अरु राष्ट्र पनि एक रहेको सार्कोजीको भनाइ छ ।
यसैबीच, आगामी शनिबार अरब लीगका सदस्य राष्ट्रका विदेश मन्त्रीस्तरीय बैठक हुने भएको छ । बैठकमा सिरियामा रहेका अरब लीगका पर्यवेक्षकहरुको शुरुवाती प्रतिवेदनको समीक्षा गरिने बताइएको छ । सिरियामा शान्ति कायम गर्नका सिरिया र अरब लीगबीच भएको सम्झौता पालना भए नभएको बारे छानबीन गर्न अरब लीगका ६० सदस्यीय पर्यवेक्षक टोली सिरियामा छन् ।
सिरियामा गत मार्चदेखि राष्ट्रपति असादको शासन विरुद्धको प्रदर्शनका क्रममा पाँच हजार भन्दा बढी मारिइसकेका छन् ।