रेबिज रोग फैलनसक्ने चिन्तामा श्रीलङ्काले ३० लाख कुकुर मार्ने

कोलम्बो । श्रीलङ्कामा प्रतिदिन दुई हजार व्यक्ति कुकुरले टोकेर अस्पताल आउन थालेपछि यस्तो व्यक्तिको सङ्ख्या घटाउन सरकारले छाडा कुकुर मार्न हालसम्म लगाएको प्रतिबन्ध शनिबार हटाएको छ ।


स्वास्थ्यमन्त्री माइथ्रिपाला सिरिसेनाले स्वर्णवाहिनी टेलिभिजन सञ्जाललाई सरकारले रेबिज रोग फैलनसक्ने चिन्तामा छाडा कुकुर मार्न लगाइएको प्रतिबन्ध फिर्ता लिने निर्णय गरेको बताउनुभयो ।


उहाँले निजी क्षेत्रमा सञ्चालित उक्त सञ्जाललाई सरकारको नीति असफल भएको स्वीकार गर्दै सरकारले अघिल्लो अभ्यासमा फर्कने बताउनुभयो ।


श्रीलङ्काको कानुनअनुसार छाडा जनावर समाती मार्न अधिकारीहरूलाई अधिकार रहेको छ र पशुअधिकार समूहको प्रयासमा सन् २००६ मा राष्ट्रपतिको एक आदेशले उक्त अधिकारलाई निलम्बन गरेको थियो ।


स्वास्थ्यमन्त्रीले श्रीलङ्कामा छाडा कुकुरको सङ्ख्या तीस लाख पुगेको र करिब दुई करोड जनसङ्ख्या भएको यस मुलुकमा यी कुकुर प्रमुख सार्वजनिक स्वास्थ्य चासो बनेको बताउनुभयो ।


श्रीलङ्कामा प्रतिदिन करिब दुई हजार व्यक्ति कुकुरको टोकाइका कारण अस्पताल पुग्नेगर्छन् र यो समस्या समाधान गर्न त्यहाँ अधिकारीहरूले बर्सेनि एक करोड ३० लाख अमेरिकी डलर खर्च गर्नुपर्छ । उक्त कुरा स्वास्थ्यमन्त्रीले बताउनुभएको हो ।


पशुअधिकारकर्मीहरूले भ्रष्टाचार तथा सार्वजनिक स्वास्थ्य अधिकारीको अव्यवस्थापनका कारण बन्ध्याकरणका प्रयास असफल भएको आरोप लगाएका छन् ।


यसबीच सत्व मित्र पशुअधिकार समूहका सागारिका राजाकरुणानायकेले सरकारले आफ्नो निर्णयमा पुनःविचार गरी यी जनावरको मानवीय उपाय गरोस् भत्रे चाहेको बताउनुभयो ।


स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सरकारले मुलुकको उत्तरी भागमा छाडा कुकुरका लागि एक आरक्षण केन्द्र बनाउन चाहेको तर अधिकारकर्मीहरूले उक्त कुरा व्यावहारिक नभएको बताएको उल्लेख गर्नुभयो ।

अधिकारकर्मीहरूले बन्ध्याकरण कार्यक्रमलाई बढी प्रभावकारी बनाउनुपर्ने तथा छाडा कुकुरलाई रेबिजविरुद्धको खोप दिनुपर्ने बताएका छन् । एएफपी