काठमाडौ – पहिलो पटक दिन लागिएको उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार यस बर्ष जनकपुरका उमेश साहलाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले संयोजक, लेखक तथा स्तम्भकार चन्द्रकिशोर झा सदस्य र स्वर्गीय उमा सिंहकी आमा सुशीलादेवीका प्रतिनिधि रमेशकुमार साह सदस्य रहेको समितिले महासंघ धनुषा शाखाका पूर्वअध्यक्षसमेत रहेका मिथिला ऋतु साप्ताहिकका सम्पादक साहलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पत्रकार उमा सिंहको हत्या भएपछिका दिनमा हत्यारालाई कारबाही गराउन, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारिता र महासंघको नेतृत्वमा रहेर निर्वाह गरेको भूमिकासमेत दृष्टिगत गरि साहलाई यो पुरस्कार प्रदान गरिने निर्णय गरेको हो ।
पुरस्कारको राशी रु. १०,००० (दश हजार) रहेको छ । पुरस्कार महासंघको स्थापना दिवसका अवसरमा प्रदान गरिने छ । सिंहको हत्या २०६५ पुस २७ गते जनकपुरमा भएको थियो ।