बैतडीमा फैलिएको दादुराबाट दुई बालबालिकाको मृत्यु, सयभन्दा बढी बिरामी

– खगेन्द्र अवस्थी

 

बैतडी – दक्षिणी शर्मालीमा एक सातादेखि फैलिएको दादुराले दुई बालबालिकाको मृत्यु भएको छ । एक सयभन्दा बढी बिरामी परेका छन् ।

शर्माली-८ पोखरीका प्रेम सार्कीकी ४ वर्षीया छोरी मीना र चन्द्रसिंह सार्कीकी एक वर्षीया छोरी संगीताको मृत्यु भएको हो । दादुराविरुद्धको खोप नदिएका कारण उनीहरूको मृत्यु भएको कुलाव स्वास्थ्य चौकीका सिनियर अहेब दुर्गादत्त जोशीले बताए ।

दादुराले शर्माली- १, ५, ७ र ८ वडाका १ सय २० जनामा दादुराको लक्षण देखिएको हो । दादुराले अधिकांश बालबालिका बिरामी परेका छन् । ५ वर्ष मुनिका ५४ जना बालबालिका र ६६ जना २२ वर्ष मुनिकामा दादुराको लक्षण देखिएको स्वास्थ्य कार्यालयले बतायो । गाविस भरीमा ३५ प्रतिशत बालबालिकाले दादुराबिरुद्धको खोप नलगाएकाले बिरामीको संख्या बढी भएको जिल्ला स्वास्थ्य कार्यालयका उप स्वास्थ्य प्रशासक डा. गुणराज अवस्थीले बताए ।

बिरामीको स्थानीय उप स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रभावित क्षेत्रमा केशरपुर प्राथमिक स्वाथ्य केन्द्र र जिल्लाबाट थप स्वास्थ्यकर्मी पठाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।