निर्वाचन आयोगमा दर्ता भएका ८० मध्ये राष्ट्रिय जनमोर्चा र हिन्दू प्रजातन्त्र पार्टीले मात्र बर्षेनि पार्टीको आयव्यय विवरण बुझाइरहेका छन्। संविधान सभाका ३१ मध्ये चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा आयव्यय विवरण पारदर्शी बनाउन आँट गर्ने एक्लो दल भएको छ। प्रतिनिधि सभा र संविधान सभा सदस्यका रूपमा केसी १७ वर्षदेखि संसदमा छन्। केसी ठूला दलले तस्कर, कालोबजारी र भ्रष्टाचारीसँग चन्दा लिएर सत्तामा आएपछि गुन तिर्ने गरेकाले हिसाब बुझाउने आँट नगरेको आरोप लगाउँछन्। केसीसित नागरिक दैनिक पत्रीकाले लिएको कुराकानीः
जनमोर्चाले मात्र किन हिसाबकिताब संसदमा बुझाएको?
-कानुनमा प्रत्येक वर्ष हिसाब बुझाउनुपर्छ भनेको छ। ठूला पार्टीले थप्पडी मारेर बनाएको कानुन हो त्यो। निर्वाचन आयोगले लौन लौन भन्दै ताकेता लगाइरहन्छ। सभा, सम्मेलन, पार्टी सञ्चालनको खर्च के हो भनेर माग गर्छ। दलहरू पारदर्शी भए भने त्यसले त लोकतन्त्र नै बलियो हुन्छ। हामी अरूले के गरे भनेर हेर्दैनांै। आफू चोखो हुनुपर्छ भनेर बर्षेनि बुझाइरहेका छौं।
हिसाबकिताब र लोकतन्त्र बलियो बनाउने मुद्दाको के साइनो छ?
-दुरुस्त हिसाब बुझाउने हो भने पार्टी कसरी सञ्चालन भइरहेको छ भन्ने छर्लङ्ग हुन्छ। पार्टीको चुरीफुरीको स्रोत के हो भन्ने सारा लोकले जान्न पाउँछन्। यो पारदर्शी भयो भने दलहरू अहिलेभन्दा सुधि्रन करै लाग्छ। असल शासनको मूल भनेको त दलहरू नै हुन् नि! दलहरू सफा नभई सरकार स्वच्छ हुन्न। सरकार असल नभई कहाँबाट जनताले न्याय पाउँछन्?