पाकिस्तानमा सरकार र सेनावीच बढ्दो तनाबकाबीच प्रधानमन्त्री गिलानीद्धारा सरकारले सेनालाई पूरै समर्थन

पाकिस्तानमा सरकार र सेनावीच बढ्दो तनाबकाबीच प्रधानमन्त्री युसुफ रजना गिलानीले सरकारले सेनालाई पूरै समर्थन गर्ने बताउनु भएको छ । सेनाध्यक्ष जनरल अशफाक परवेज कियानी सहित वरिष्ठ मन्त्री र सैन्य अधिकारीहरु सहभागि मन्त्रीमण्डलको रक्षा समितिको बैठक पछि गिलानीले सेना प्रति सरकारी स्वर नरम गर्नु भएको हो । उहांले सरकार , संसद र पाकिस्तानी जनता आफ्ना बहादुर सेनाको साथ रहेको उल्लेख गर्नुभयो ।


प्रधानमन्त्री गिलानीले सबै संस्थालाई आफ्नो अधिकार क्षेत्रमा रहेर काम गर्न दिने सरकारी नीति रहेको स्पष्ट पार्नु भयो । सरकार र सेनाबीच मेमो विवादलाई लिएर सम्बन्ध तनाबपूर्ण बनेका बेला गिलानीका तर्फबाट यस्तो भनाई आएको हो । तर उहांले सेनाको नाम नलिइ केही तत्वले आफ्नो सरकार भंग गर्ने काशिश गरेको आरोप लगाउन भने चुक्नु भएन । बैठक अघि प्रधानमन्त्री गिलानी र सेनाध्यक्ष जनरल कियानीबीच छलफल भएको थियो ।


गिलानीसंग भेट्नु अघि सेनाध्यक्ष जनरल कियानीले राष्ट्रपति आसिफ अली जर्दारीसंग पनि भेटवार्ता गर्नुभएको थियो । पाकिस्तानमा सरकार ,सेना र न्यायापालिकाबीच चलिरहको विवादबीच सरकारले संसदमा शुक्रवार लोकतन्त्रको पक्षमा प्रस्ताव पेश गरेको छ । प्रस्तावमाथि सोमबार मतदान हुंदैछ ।