म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सानसुकीद्धारा संसदको आगामी उपचुनावका लागि उम्मेदवारी

	बर्मामा हुने उपनिर्वाचनको लागी सुकीद्धारा उम्मेदवारी दर्ता


म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सानसुकीले संसदको आगामी उपचुनावका लागि हिजो उम्मेदवारी दर्ता गरेकी छन् । नेसनल लिग फर डेमोक्रेसी, एनएलडी पार्टी प्रमुख सुकीले अप्रिल १ मा हुने चुनावमा दक्षिण पश्चिम यंगुनको कावमुबाट चुनाव लड्दै छिन् ।

 

नोभेम्बर २०१० मा उनी नजरबन्द मुक्त भएकी थिइन् । रिहाइ हुनुभन्दा एक साताअघि भएको आमचुनाव उनको पार्टीले बहिस्कार गरेको थियो । सुधार प्रक्रिया सुरु भएपछि उनको पार्टी राजनीतिक प्रक्रियामा फेरि सामेल भएको हो । विजयी सांसदहरु मन्त्री बनेपछि रिक्त ४८ स्थानमा चुनाव हुन लागेको हो । सुकीको पार्टी एनएलडीले ४० स्थानका लागि प्रतिस्पर्धा गर्दैछ । सैन्य समर्थक सरकारको सुधारका कार्यक्रमको मुख्य परीक्षण यो उपचुनावले गर्ने बताइएको छ । उमेदवारी दर्तापछि उनले सार्वजनिक प्रतिक्रिया दिएकी छैनन् ।

 

सन् १९९० मा एनएलडीले भारी बहुमतले चुनाव जितेलगत्तै सैन्य शासकले उनलाई नजरबन्दमा राखेको थियो । भने उनको पार्टीलाई सरकार गठन गर्न दिइएन । २०१० को चुनावपछि सैन्य समर्थक पार्टीका थेन सेन राष्ट्रपति भएका छन् । नयाँ सरकारले सुकीसँग वार्ता गरिरहेको छ ।

 

एनएलडीलाई २०१० को चुनाव बहिस्कार गर्न बाध्य पार्ने निर्वाचन कानुन थेनको सरकारले परिवर्तन गरेको छ ।