रुसद्धारा पश्चिमी देशले इरानमाथि सैन्य कार्वाही गरेमा त्यसको परिणाम अत्यन्तै खराव आउने चेतावनी

रुसका विदेश मन्त्री सर्गेई लावरोवले पश्चिमी देशले इरानमाथि सैन्य कार्वाही गरेमा त्यसको परिणाम अत्यन्तै खराव आउने चेतावनी दिएका छन् ।

 

आक्रमणको परिणाम आंकलन गरेर मात्र कदम चाल्न उनले सचेत तुल्याएका छन् । हस्तक्षेप गरिए त्यहाँबाट बाहिरिने ठूलो संख्याको शरणार्थीका कारण मध्यपूर्वमा तनावको स्थिति सृजना हुने उनको दावी छ ।

 

मस्कोमा पत्रकारहरुसँग उनले पश्चिमी देशहरुले इरानविरुद्ध लगाएको प्रतिबन्धको पनि आलोचना गरे । यसैबीच, इरानी विदेशमन्त्री अली अकबर सालेहीले इरानको परमाणु सम्बन्धि वार्ता टर्कीको इस्तानवुलमा हुनसक्ने बताएका छन् । टर्की पुगेका सालेहीले सञ्चारकर्मीहरुलाई उक्त जानकारी दिनुभएको हो ।

 

अमेरिका, इजरायललगायतका पश्चिमी मुलुकले इरानको परमाणु कार्यक्रम विश्वका लागि खतरा भएको भन्दै बन्द गराउन दबाब दिइरहेका छन् । दबाबस्वरुप अमेरिकाले इरानी केन्द्रीय बैक र तेल कम्पनीविरुद्ध प्रतिवन्ध लगाएको छ ।