दैलेखमा औषधि अभाव

दैलेख – जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा औषधि अभाव भएको छ। औषधि अभाव भएपछि सामान्य जीवनजल किन्नको लागि स्थानीयलाई निजी औषधि पसलमा जानुपर्ने बाध्यता रहेको छ।

 

नेपाल सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको ४२ प्रकारका औषधिमध्ये जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा हाल १६ प्रकारका औषधिमात्र मुस्किलले पाइने गरेको सेवाग्राहीको गुनासो छ।


केन्द्रबाट आउनुपर्ने औषधि समयमै नआएकाले अघिल्लो वर्षको औषधिबाट हालसम्म काम चलाएको र यो वर्षको औषधि खरिदको लागि बोलपत्र आह्वान प्रक्रियामा ढिलो भएकाले समस्या भएको जिल्ला अस्पतालले जनाएको छ।


विगत एक महिनादेखि गाउँमा औषधि नभएपछि सरकारले प्रदान गरेको सेवा सुविधाबाट जिल्लाबासी प्रत्यक्ष रुपमा वञ्चित हुनपुगेका छन्।


यसअघि जिल्लाभरका स्वास्थ्य संस्थामा वितरण गरिएको आइरन चक्किमा समेत ढुसी पलाएको भेटिएपछि स्वास्थ्य संस्थाहरुलाई तत्काल परिपत्र गरी १५ हजार पत्ता आइरन चक्की जिल्ला स्वास्थ्य कार्यालय दैलेखले सदरमुकाम झिकाएको समेत बताएको छ।


जिल्ला स्वास्थ्य कार्यालय दैलेखले एकहप्ताभित्र गाउँका स्वास्थ्य संस्थाहरुमा औषधि पुर्‍याउने बताए पनि आजसम्म सदरमुकाममा औषधि पुगेका छन्।


जिल्लामा रहेका तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, छवटा स्वास्थ्य चौकी र ५० वटा उपस्वास्थ्य चौकीमा निःशुल्क औषधिको समस्या देखिएको छ। रासस