लोडसेडिङ अत्यधिक भएपछि कान्तिपुर टेलिभिजनले फेरि लालटिन बुलेटिन सुरु

काठमाडौ –  लोडसेडिङ अत्यधिक भएपछि कान्तिपुर टेलिभिजनले लालटिन बुलेटिन फेरि सुरु गरेको छ । दैनिक १४ घन्टे लोडसेडिङले विद्युत् समस्या चरम भएको भन्दै केटीभीले नियमित आपूर्ति नहुञ्जेल मंगलबारदेखि साँझ ७ बजेको समाचार लालटिन बालेर पढिने टेलिभिजनको समाचार शाखाले जनाएको छ ।

गत वर्षको लालटिन बुलेटिनले ऊर्जा संकट समाधान गर्न सरकारलाई झक्झक्याउने आशा आफूले गरे पनि त्यस्तो केही नभएकामा केटीभीले खेदसमेत प्रकट गरेको छ । ‘हामीलाई लागेको थियो गत वर्षजस्तो यस वर्ष हामीले अन्धकार भोग्नुपर्ने छैन,’ केटीभीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर विद्युत् कटौतीका कालरात्रिहरू यसपटक पनि उसैगरी दोहोरिएका छन् र नेपाली जनतालाई फेरि उस्तै अन्धकारमा धकेलिएको छ ।’

लालटिन बुलेटिन जनताको मर्काप्रति ध्यान नदिने नीति-निर्माताहरूमाथिको व्यंग्य, विरोध र आक्रोशको अभिव्यक्ति भएको केटीभीले जनाएको छ । – कान्तिपुर