पपुवा न्यू गिनीमा अपदस्थ प्रधानमन्त्रीको पूनर्वहालीको माग गर्दै सैनिक विद्रोह भएको छ । अष्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार राजधानी पोर्ट मोर्सबीमा स्थानिय समय अनुसार बिहान यो विद्रोह भएको हो ।
यस्तै रक्षा प्रमुखलाई पनि पक्राउ गरिएको छ । विद्रोहमा १२ देखी २० सैनिकको एक समुह सक्रिय रहेको अनुमान गरिएको छ । विद्रोहको नेतृत्व अवकाश प्राप्त कर्णेल याउरा सासाले गरेका छन् । उनले सेना प्रमुख फ्रान्सिस अगवीलाई नजरबन्दमा राखि आफैलाई सेना प्रमुख घोषणा गरेका छन् ।
सेना प्रमुख वर्तमान प्रधानमन्त्रीका समर्थक मानिन्छन् । गिनीका पूर्व प्रधानमन्त्री सर माइकल सोमारे र विपक्षी पीटर ओ नीलबीचको शक्ति संघर्षका कारण यो घटना निम्तिएको बताइएको छ । गत वर्ष सोमारे उपचारका लागि विदेश गएका बेला नीले सत्ता हत्याएका थिए ।
यसपछि विगत ६ महिना देखी दुवैले प्रधानमन्त्रीको दाबा गरिरहेका छन् । सैन्य विद्रोहका विषयमा पीटर ओ नीलको कार्यालयका तर्फबाट भने कुनै प्रतिक्रिया नआएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।