संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले लिवियामा सक्रिय अनियन्त्रित हतियारधारी समुहले हजारौ मानिसलाई नियन्त्रणमा राखेको भन्दै चिन्ता व्यक्त गरेको छ । ८ हजार भन्दा बढी गद्धाफी समर्थक उनीहरुको नियन्त्रणमा रहेको जनाइएको छ ।
सोमबार मात्रै लिवियाका पूर्व शासक कर्णेल गद्धाफीको पकड मानिएको बानी वालिद क्षेत्रमा भएको हिंसात्मक घटनामा चार जना मारिएका थिए । लिवियाको कमजोर अन्तरिम परिषद् सरकार मुलुकमा आफ्नो दह्रो उपस्थिति र वैधानिकता सावित गर्नमा नै संघर्र्षरत छ । सुरक्षा परिषद्लाई प्राप्त जानकारी अनुसार राजधानी ट्रिपोली, बानी वालिद र वेनघाजी शहरमा भैरहेका हिंसात्मक घटना यसैको नजिता भएको उल्लेख छ ।
लिवियामा संयुक्त राष्ट्रसंघका विशेष दूत इयान मार्टिनले लिवियामा हतियारधारी समुह र विद्रोहीबीचको झडपलाई गलत ढंगबाट पेश गरिएको जानकारी दिनु भयो । यस अघि गद्धाफी समर्थकले बानी वालिद शहर आफ्नो नियन्त्रणमा लिन प्रयास गरेको संयुक्त राष्ट्रसंघलाई जानकारी गराइएको थियो ।
उता राष्ट्रसंघका मानवअधिकार प्रमुख नेभी पिल्ले पनि लिवियामा करिब ६० वटा हिरासत केन्द्रमा राखिएका ८ हजार भन्दा बढी बन्दीको विषयलाई लिएर चिन्ता जनाइसक्नु भएको छ । उहांले यस्ता गैरकानुनी केन्द्रहरुमा नियन्त्रण कायम राख्न र प्रताडितहरुलाई कानुनी सहयोग गर्न आग्रह गर्नुभएको छ । लिवियाली अधिकारीहरुले भने स्थिति आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् ।