बेलायतले सन् २०१४ मा नेटो सैन्य अभियानको समाप्ति पछि पनि अफगानिस्तानलाई सहयोग जारी राख्ने भएको छ ।
बेलायत भ्रमणमा रहेका अफगान राष्ट्रपति हमिद कारजाई र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनबीचको सम्झौता पछि यो निर्णय सार्वजनिक भएको हो । दुवै नेताहरुले कसरी एकसाथ अगाडि बढ्ने भन्ने विषयमा पनि महत्वपूर्ण सहमति गरेको बताइएको छ । बेलायती प्रधानमन्त्री क्यामरुनले आपसी सम्बन्ध कुटनीति ,व्यापार र सहयोगको विषयमा केन्द्रीत रहने जानकारी दिनु भयो । कारजाईले आफ्नो मुलुकको भविष्य निर्माणका लागि बेलायतले पु-याएको योगदान प्रति कृतज्ञता प्रकट गर्नु भयो ।
अफगानिस्तानमा एक जना अफगान सुरक्षाकर्मीले चार जना फ्रान्सका सेनालाई मारे पछि फ्रान्सले पूर्व निर्धारित समय भन्दा एक वर्ष अघि नै अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने निर्णय गरेको छ । यो घटना पछि अफगानिस्तानमा रहेका विदेशी सेना फिर्तीको विषयलाई लिएर विभिन्न आशंकाहरु पैदा भएका थिए । अफगानिस्तानमा हाल नेटो मिशन अन्तर्गत ३ हजार ६ सय फ्रेन्च सेना तैनाथ छन् ।