सिरियामा आन्दोलनकारीमाथि भएको सरकारी दमनका विषयमा छलफल गर्न बसेको राष्ट्रसंघीय सुरक्षा परिषद वैठकको पहिलो दिन आज कुनै सहमति हुन सकेन । सुरक्षा परिषद्मा प्रस्तुत सिरिया सम्बन्धि प्रस्तावमा सिरियामा मानवअधिकार उल्लंघनको भत्सर्ना, हिंसा अन्त्य गर्न दुवै पक्षलाई आह्वान , हतियार उपलब्ध नगराउने लगायतका विषय समावेश छन् ।
वैठकमा सिरियाली राष्ट्रपति बशार अल असादलाई राजीनामा गराउने अरब लीगको योजनामा पनि छलफल भएको थियो । पश्चिमा मुलुकका मन्त्रीहरुले अरब लीगको योजनालाई समर्थन जनाइसकेको भए पनि रुसले भने सिरिया विरुद्धको कुनै पनि प्रस्ताव विरुद्ध भिटो प्रयोग गर्ने जनाइसकेको छ ।
रुसले प्रस्ताव सन्तुलित नभएको र यसले सिरियाको आन्तरिक मामिलामा हस्तक्षेप निम्त्याउन सक्ने जनाएको छ । अमेरिका, बेलायत र फ्रान्सको समर्थन रहेको अरब लीगको प्रस्तावित योजनामा असादले आफ्ना उपराष्ट्रपतिलाई राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सत्ता सुम्पनु पर्ने उल्लेख छ । सिरियाले भने अरब लीगको प्रस्ताव अस्वीकार गरिसकेको छ । सिरियामा गत मार्च यता राष्ट्रपति असादको शासन विरुद्धको प्रदर्शनमा ५ हजार ४ सय भन्दा बढी मारिइसकेको राष्ट्रसंघले जनाएको छ ।