कालीकोट सदरमुकाम मान्ममा गएराति एक घरमा आगलागी हुँदा एक महिला प्रहरीसहित २ बालकको जलेर मृत्यु भएको छ ।
स्थानीय अजयबहादुर बमको घरमा राति ११ बजे लागेको आगोबाट कोठामा सुतिरहेका जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत महिला प्रहरी सुनिता परियारको ज्यान गएको हो ।
यस्तै दैलेख कुषापानी घर भई कालीकोट सदरमुकाम मान्ममा रहेको बाल विकास बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीया शर्मिला कठायत र सोही विद्यालयमा कक्षा २ मा पढिररहेका उनका ८ वर्षका भाई विमल कठायतको मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
घरमा उज्यालोका लागि बालिएको मैनबत्तिबाट आगलागि हुँदा घरमा रहेका केही कार्यालयहरुमा पनि क्षति पुगेको छ ।
आवश्यक उपकरण नहुँदा राति २ बजेमात्र नेपाली सेना, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ ।