युरोपमा अत्यधिक चिसोले गर्दा रुसबाट आउने ग्यास आपूर्तिमा समस्या

अत्यधिक चिसोले गर्दा रुसबाट आउने ग्यास आपूर्तिमा समस्या आएपछि युरोप पनि ग्यास अभावमा चेपिएको छ । चिसो बढेर रुसमै ग्यासको माग बढ्न थालेपछि युरोपका विभिन्न आठ मुलुकमा कम परिमाणमा मात्रै ग्यास पठाइएको युरोपियन युनियनका प्रवक्ता मार्लेन होल्जनरले जानकारी दिइन् ।

 

युक्रेन हुँदै युरोप पुग्ने रुसको ग्यास आपूर्तिमा अचानक कमी भएपनि आपत्कालीन स्थिति नै भने नरहेको होल्जनरको भनाइ छ । ग्यास आपूर्तिमा रुसको एकाधिकारका कारण समस्या आएको आरोप लागेको छ ।

 

पश्चिमी युरोपमा तापक्रम माइनस ३५ डिग्रीसम्म झरे पछि मर्ने मानिसको संख्या बढेको छ ।

 

युक्रेनमा मात्रै एक सय जना मानिसको मृत्यु भैसकेको छ । मारिने धेरैजसो घरवारविहीन रहेको बताइएको छ । चिसो बढ्दा हिमपात हुन सक्ने भन्दै फ्रान्स, इटली र बेलायतमा सर्वसाधरणलाई सूचित गरिएको छ ।