रजस्वला भएर घर नजिकैको गोठमा सुत्न गएकी १६ वर्षीया युवतीको मृत्यु

– वेदप्रकाश तिमिल्सैना

 

अछाम  – छाउपडी गोठमा एक किशोरी मृत फेला परेकी छन् । ढकारी ४, खणीकाका जयसर्मे बुढाकी १६ वर्षीया छोरी लक्ष्मीकुमारी शुक्रबार दिउसो मृत फेला परेकी हुन् ।

छाउपडी (रजस्वला) भएर घर नजिकैको छाउगोठमा सुत्न गएको दोस्रो दिनको राती उनको ज्यान गएको हो । मृतकका बुबा जयसर्मेका अनुसार दिउसोसम्म पनि नउठेपछि छिमेकीको सहयोगमा गोठको ढोका तोडेर हेर्दा लक्ष्मी मृत भेटिएकी थिइन् । मृतकको शरीरको दुवै खुट्टा आगोले जलेको, नाक मुखबाट रगत आएको, ओडने र ओच्छ्याउने पनि जलेको अवस्थामा थियो । ‘छोरी बिहानसम्म नउठेपछि गोठको ढोका फुटाएर हेर्‍याँै, ऊ त मरीसकेकी रहिछ’, शवको पोष्टमार्टमका लागि मंगलसैन आएका उनले भने’, ‘दैवको लिला गोठ पनि सानो थियो, देवीदेवताको छल पनि हुन सक्छ ।’

अछाम प्रहरीले पनि १६ बषर्ीया लक्ष्मीको छाउपडी गोठमा आगोले जलेर अक्सिजन अभावमा ज्यान गएको पुष्टी गरेको छ । प्रहरी चौकी ढकारीले लास जाँच मुचुल्का र घटनास्थल मुचुल्कामासमेत अक्सिजनको अभाव र आगोले शरिर जल्दा लक्ष्मीको ज्यान गएको उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपिरिक्षक डिएसपी शुसीलसिंह राठौरले भने, ‘सबै कुरा बुझदा छाउपडीको आगोले शरिर जल्दा र अक्सिजन कमिका कारण ज्यान गएको पुष्टि भएको छ ।’ अछाम प्रहरीका अनुसार आइतवार अछाम अस्पतालमा शवको पोस्टमार्टम गरेर सदरमुकाममै अन्तिम संस्कारसमेत गरिएको छ ।

एक तथ्यांक अनुसार अछाम जिल्लाका महिनावारी हुनेमध्ये करिब ९६ प्रतिशत महिला महिनावारी -छाउपडी) हुँदा छाउपडी गोठमा बस्ने गरेका छन् । जिल्लाका ३ दशमलव ९७ प्रतिशत महिला मात्र महिनावारी हुँदा घरमै बस्ने गरेका छन् ।