सिरयाका सवालमा चीन र रुसले देखाएको व्यवहारप्रति अमेरिका क्रुद्ध

सिरयाका सवालमा चीन र रुसले देखाएको व्यवहारप्रति अमेरिका क्रुद्ध बनेको छ । सिरयाली राष्ट्रपति बसर अल असदले सत्ता छाड्नुपर्ने राष्ट्रसंघ सुरक्षा परिषदमा आएको प्रस्तावलाई निस्तेज बनाउन ति दुई देशले विशेषाधिकार भिटो प्रयोग गरेकामा अमेरिका रुष्ट बनेको हो । अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले चीन र रुसको व्यवहार खिल्ली गर्न लायक भनेर कडा टिप्पणी गर्नुभएको हो ।


लोकतान्त्रिक सिरिया चाहने सबैले असदको विरोध गर्नुपर्ने क्लिन्टनको जिकीर छ । सिरयाली शासकले प्रदर्शनकारीमाथि गरिरहेको निर्मम हत्याको विरोध गदै अरब लीगसहित पश्चिमा देशले सुरक्षा परिषदमा ल्याएको असदले सत्ता छाड्नुपर्ने प्रस्तावमाथि चीन र रुसले भिटो प्रयोग गरी खारेज गरिदिएका थिए । जनताको सुरक्षा र लोकतन्त्र स्थापनाका लागि अमेरिकाले सिरयाका मित्रहरुसँग मिलेर काम गर्ने क्लिन्टनले स्पष्ट गर्नुभयो । उहाँले सिरयामाथिको नाकाबन्दी अझ बढाउने चेतावनी पनि दिनुभयो ।


यसैबीच, सिरयाली विपक्षी दलहरुले भने चीन र रुसले भिटो प्रयोग गरेर असदलाई मान्छे मार्ने लाइसेन्स दिएको टिप्पणी गरेका छन् । सिरयामा गएको मार्चमा शुरु भएको आन्दोलनमा सात हजारभन्दा बढी नागरिक मारिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् ।