ग्रीसका प्रधानमन्त्रीद्धारा ऋण संकटमा डुबेको मुलुक तहसनसह हुने संघारमा पुगेको भन्दै गंभिर चिन्ता व्यक्त

ग्रीसका प्रधानमन्त्री लुकास पापान्डेमोसले ऋण संकटमा डुबेको मुलुक तहसनसह हुने संघारमा पुगेको भन्दै गंभिर चिन्ता व्यक्त गर्नु भएको छ ।

 

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पापान्डेमोसले सरकारमा रहेका सबै मन्त्रीले सरकारी खर्च कटौति विधेयकलाई समर्थन नगर्ने हो देश भयावह स्तितिमा पुग्ने चेतावनी दिनु भयो । उहांले खर्च कटौति योजनाले नै मुलुकको भविष्य निर्धारण गर्ने बताउनु भयो ।

 

आर्थिक संकटबाट गुज्रिरहेको ग्रीसमा खर्च कटौतिको विरोधमा लगातार प्रदर्शनहरु भैरहेका छन् । युरोजोनका देशहरुले ग्रीसलाई आफ्नो ऋण चुक्ता गर्न खर्च कटौती योजना लागु गरे मात्र सहयोग गर्ने शर्त राखेका थिए । पांच मन्त्रीहरुको राजीनामा पछि मात्र मन्त्रिपरिषद्बाट खर्च कटौति योजना स्वीकृत भए पनि यसलाई ग्रीक संसदले अनुमोदन गर्न बांकी छ ।

 

युरोजोनका अर्थमन्त्रीहरुले ग्रीक संसदले खर्च कटौती योजना अनुमोदन गरे ग्रीसलाई १ सय ३० अर्ब युरो ऋण दिने वचन दिएका छन् । सरकारको खर्च कटौति योजनामा १५ हजार रोजगारीमा कटौती, मासिक ज्याला दरमा २० प्रतिशतसम्म कटौती, श्रम काुननमा उदारिकरण जस्ता प्रावधान छन् ।