शान्ति बहालीका लागि अरब लीगले ल्याएको नयाँ प्रस्तावलाई पनि सिरयाद्धारा अस्वीकार

शान्ति बहालीका लागि अरब लीगले ल्याएको नयाँ प्रस्तावलाई पनि सिरयाले अस्वीकार गरेको छ । सिरियामा अन्धाधुन्ध रुपमा बढेको हिंस्रक कार्वाही रोक्न अरब लीगले संयुक्त राष्ट्रसंघको सहयोगमा एउटा शान्ति दल पठाउनु पर्ने नयाँ प्रस्ताव ल्याएको थियो ।

 

राष्ट्रसंघ र अरब लीगको संयुक्त शान्ति स्थापना मिशन टोली पठाउन ढिला गरे थुप्रैं सर्वसाधारण अनाहकमा मारिने लीगको जिकीर छ । तर यस प्रस्तावलाई सिरियाले ठाडै अस्वीकार गरिदिएको हो । अरब लीगका प्रमुख नबिल अल अरबीले सिरयामा भैरहेको नागरिकको कत्लेआम रोक्न अब कडा कदम उठाउन ढिला गर्न नहुने बताउनुभयो ।

लीगमा रहेका सिरयाली राजदूतले भने केही अरब मुलुक आवश्यकता भन्दा बढी नै बकबक गरिरहेको टिप्पणी गरेका छन् । यस्तै रबैया रहिरहे सिरियासँग सबैखाले कूटनीतिक सम्बन्ध तोड्नु पर्ने प्रस्ताव अरब लिगले पारित गरेको थियो । मुलुकमा बढ्दै गएको आन्दोलन दबाउन खोज्दा राष्ट्रपति बसर अल असद भने अन्तर्राष्ट्रिय मञ्चहरुमा कमजोर बन्दै गएको देखिन्छ ।

 

अर्कातिर आतंकवादी संगठन अलकायदाका प्रमुख आयमन अल जवाहिरीले विद्रोहीहरुको कदमलाई समर्थन गर्दै अरब लिग र पश्चिमा देशको समर्थनमा धेरै निर्भर नहुन आन्दोलनकारीलाई भनेका छन् । सिरिया सरकारले आफ्ना मुसलमान नागरिकमाथि अत्याचार गरिरहेकोले त्यसबाट छुटकारा पाउन जुनसुकै खाले कदम उठाउन उनले भनेका छन् । जवाहिरीले आफ्ना सबै आतंकवादी समर्थकलाई पनि सिरियामा गई असद विरुद्धको लडाइमा जुट्न आह्वान गरेका छन् ।