अदालतको अपमान गरेको मुद्धा खेपिरहेका पाकिस्तानी प्रधानमन्त्री गिलानीलाई त्यहाँको अदालतले दोषी ठहर

अदालतको अपमान गरेको मुद्धा खेपिरहेका पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानीलाई त्यहाँको सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।

 

राष्ट्रपति आसिफ अली जर्दारीसंग जोडिएको भ्रष्टाचार मुद्दालाई अघि बढाउन स्वीस अधिकारीहरुलाई आग्रह गर्ने अदालतको आदेशलाई कार्यान्वय नगरी प्रधानमन्त्री गिलानीले अदालतको अपमान गरेको ठहर सर्वोच्च अदालतले गरेको हो ।

 

सात जना न्यायाधीशहरुको इजलासले गिलानीले जानाजान भ्रष्टाचारको मामिलामा अदालतको अपमान गरेको भन्दै उनीमाथिको अभियोग प्रमाणित भएको फैसला सुनाएको हो । सुनुवाइका क्रममा अदालतमा उपस्थित प्रधानमन्त्री गिलानीले भने आफू निर्दोष रहेको भन्दै आफूमाथि अदालतबाट अन्याय भएको प्रतिक्रिया दिनु भएको छ ।

जनताबाट निर्वाचित राष्ट्रपति विरुद्ध मुद्दा अघि बढाउंदा राम्रो सन्देश नजाने जिकीर गरेको भन्दै गिलानीले त्यही आधारमा आफूलाई दोषी ठहर गर्नु गलत भएको जिकीर गर्नुभयो । पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीलाई अदालतको अपमान गरेको आरोपमा दोषी ठहर गरिएको पाकिस्तानको इतिहासमै पहिलो भएको बताइएको छ । यसअघि, अलजजिरा टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री गिलानीले अदालतले आफूलाई दोषी ठहर गरे प्रधानमन्त्री र सांसद पदबाट समेत राजीनामा दिने घोषणा गर्नुभएको थियो ।