सिरियामा सरकार विरोधी प्रदर्शनकारीमाथि सरकारी दमन तिब्र भैरहेका बेला होम्स् शहरमा रहेको एउटा प्रमुख तेल पाइप लाइनमा भिषण विष्फोट भएको छ । गत साता सरकारी सेनाले प्रदर्शनकारी विरुद्ध व्यापक बमवारी गरेको बाबा अमर जिल्लाको खेत नजिक उक्त पाइप लाइन बिच्छाइएको थियो । यो पाइप लाइनबाट राजधानी दमस्कस र मुलुकको दक्षिणी क्षेत्रमा तेल लैजाने गरिन्थ्यो । सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्ध गत मार्चमा प्रदर्शन शुरु भए यता यो पाइप लाइन विष्फोटका प्रयासहरु हुंदै आएका थिए ।
सरकारले पाइप लाइन विष्फोटमा सशस्त्र आतंककारीको हात रहेको आरोप लगाएको छ भने एक जना मानवअधिकारकर्ताले भने सरकारी लडाकु विमानले पाइप लाइनमा विष्फोट गराएको जनाएका छन् । सरकारी सेनाले त्यस क्षेत्रको विभिन्न जिल्लामा रकेट र मोर्टार प्रहार गरेको र सञ्चार सम्पर्क समेत विच्छेद गराएको प्रदर्शनकारीहरुले जनाएका छन् । होम्स् शहरमा गत हप्ता यता सुरक्षाकर्मीले प्रदर्शनकारी विरुद्ध शुरु गरेको कारवाहीका क्रममा ४ सय भन्दा बढी मानिस मारिइसकेका छन् ।