संयुक्त राष्ट्रसंघको महासभाले सिरियाली राष्ट्रपति बशर अल असदले सत्ता छाड्नुपर्ने अरब देशहरुको प्रस्ताव पारित गरेको छ ।
पारित प्रस्तावमा सिरयामा भइरहेको हिंसाको निन्दा गर्दै राष्ट्रपति असदलाई सत्ता छाड्न भनिएको छ ।
यद्यपि, यो प्रस्ताव असदका लागि बाध्यकारी हुने छैन । तर यसले आन्दोलनमा रहेका जनताको पक्षमा विश्व जगत रहेको सन्देश प्रवाह गरेको वताइएको छ ।
असदले सत्ता छाड्नुपर्ने प्रस्तावको पक्षमा १ सय ३७ देश र विपक्षमा १२ देशले मत दिएका थिए । १७ मुलुक भने मतदानमा सरिक नभई तटस्थ रहे । चीन, रुसलगायत देशले विपक्षमा मत दिएका थिए ।
यसअघि सुरक्षा परिषदको बैठकमा पनि यि दुई देशले असदले सत्ता छाड्नुपर्ने अरब लीगको प्रस्तावविरुद्ध विशेषाधिकार भिटो प्रयोग गरेका थिए ।