सिरियामा जारी हिंसा र तनाबबीच चिनियां उपविदेशमन्त्री झाई जुन र सिरियाली अधिकारीहरुबीच वार्ता

चिनियां उपविदेशमन्त्री र सिरियाली अधिकारीहरुबीच वार्ता


सिरियामा जारी हिंसा र तनाबबीच दमस्कस पुग्नु भएका चिनियां उपविदेशमन्त्री झाई जुन र सिरियाली अधिकारीहरुबीच वार्ता भएको छ ।

 

संयुक्त राष्ट्रसंघमा सिरियाको हिंसा अन्त्यको लागि प्रस्तुत प्रस्ताव विरुद्ध मतदान गरेको दोस्रो दिन चिनियां उपविदेशमन्त्री दमस्कस पुग्नु भएको हो ।

 

सिरियाको संकट समाधानमा मध्यस्थताको भूमिका निर्वाह गर्ने प्रयासमा रहेको चीनका उपविदेशमन्त्री र उहाँका सिरियाली समकक्षीबीचको वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । उपविदेश मन्त्री झाईले विपक्षी नेताहरुसंग पनि भेट गर्नु भएको छ । बेइजिंगले सिरियाको समस्या शान्तिपूर्ण र सही ढंगबाट समाधान हुने आशा व्यक्त गदै मध्यस्थताको रचनात्मक भूमिका खेल्ने जनाएको छ ।

 

सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्ध भइरहेको महिनौं लामो विरोध प्रदर्शनका क्रममा हिजो मात्र सुरक्षाकर्मीले ४० जना प्रदर्शनकारी मारेका छन् । सुरक्षाकर्मीले प्रदर्शनकारी विरुद्ध बमवारी गर्ने क्रम पनि जारी राखेको प्रदर्शनकारीको दाबी छ ।