अर्घाखाँचीमा गाईपालनको लहर


जर्सी गाई देखाउँदै अर्घाखाँची ठाडाका युवा फर्मका अध्यक्ष मोती बेल्वासे ।

 

– वीरेन्द्र केसी


अर्घाखाँची – १० वर्षे द्धन्द्धको बेला गाउँहरु प्राय सुनसान भएका थिए । असुरक्षित महसुस गर्दै धेरैले गाउँ छाडे भने युवाहरु धमाधम विदेशिए । ग्रामिण क्षेत्रका धेरै घरहरु रित्तिए खेतबारीहरु बाँझिन पुगे तर शान्ति प्रकि्रयापछि अहिले देशमा शान्तिको महसुस गर्दै विदेशिएका ती युवाहरु गाउँ फर्केर बाँझिएका खेतबारी कोर्दै कृषिलाई उद्यम बनाउन थालेका छन ।


गाईपालनबाट गाउँलेको जीवनस्तर फेरिदै आएको छ । आफनै ठाउँमा केही गर्छु भन्दा पनि द्धन्द्धको बेला डर र त्रासका कारण साउदी अरब हानिएका ठाडाका युवा मोती बेल्वासेले अहिले सृजनशिल बहुउद्देश्य गाईपालन समुह फर्म को नेतृत्व गरेका छन । सँगै अरब गएर फर्केका उनका गाउँले साथी विष्णु वेल्वासे अहिले जर्सी गाईलाई कसरी स्याहार सुसार गरे धेरै दुध झार्न सकिन्छ भन्ने बाहेक अरु सोच्न सम्म भ्याउदैनन । गाउँमा काम गर्ने जनशक्ति अभावमा बाँझिएको ठाडाकै गंगा फाँटमा रहेको १५ बीघा खेत ५ वर्षको लागि  भाडामा लिएर तरकारी र जर्सी गाईपालन गरेको त्यो सुन्दर रमणीय दृश्य हेर्दा मनै आनन्दित हुन्छ ।


अहिले फर्म भित्र जर्सी गाई कुखुरा बंगुर छन । कार्तिक देखी शुरु गरेको यो व्यावसायबाट ५ लाख रुपैयाँ जति आम्दानी भैसकेको छ । गोठमा रहेको २० वटा जर्सी गाई मध्ये ५ वटा दुहुना छन । दैनिक ७० लिटर जति दुध ठाडा दह र अमराई बजारमा प्रतिलिटर ३० रुपैयाँमा बिक्री भैरहेको छ । अरु ब्याउने तरखरमा छन भने अझै ३० वटा दुहुना जर्सी गाई तत्काल ल्याउने तयारीमा रहेको फर्मका अध्यक्ष मोती बेल्वासेले बताए । १ हजार जति कुखुरा बिक्री भैसकेका छन भने फेरी तयारी हुदैछन । माछा पाल्नको लागि पोखरी निर्माण गरिदैछ । पहिलो लटमै १० हजार जति माछाका भुरा हालिनेछ ।  एक वर्ष भित्रमा यो फर्ममा २ सय भन्दा बढी गाईको दुध उत्पादन हुनेछ उनले भने लुम्बिनी अञ्चलकै नमुना फर्म बनाउन हाम्रो टिम लागिपरेको छ ।

 

सात जनाको टिम मिलेर १४ लाख रुपैयाँको लगानीमा शुरु भएको हो । जसमध्ये १२ लाख रुपैयाँ कृषि विकास बैंकको ठाडा शाखाबाट ऋण लिएका छन । गाईको दुधबाट राम्रो आम्दानी हुने भएपछि उनीहरु यसप्रति आर्कषित भएका छन । जग्गा धनीले काम गर्न छाडेपछि यी खेत बाँझिएर बेवारिसे जस्तै भएका थिए फर्मका सदस्य केदार वेल्वासेले भने हाम्रो अभियान गाउँ छाडेर जानेहरुलाई पुन फर्काएर कृषिमा लगाउने हो । उनी शिक्षक पेशा छाडेर यता लागेका छन अन्य सदस्यमा हुम बहादुर बेल्वासेले मालपोलको अधिकृत महेन्द्र पाण्डे शिक्षक नारायण वेल्वासे व्यापार छाडेर यता लागेका छन भने कुल बहादुर पाण्डे सामान्य कृषक थिए । जिल्ला पशु सेवा कार्यालयको ठाडा केन्द्रको सहयोगमा उनीहरुले जसर्ीगाई पाल्न शुरु गरेका हुन । उनीहरुले गाई पालेको देखेर गाउँका अन्य पेशा गरेर बस्नेहरु पनि यसप्रति लोभिन थालेका छन । करिब ५ हजार घरधुरी रहेको ठाडा गाविसमा एक घर एक जर्सी गाईपालन अभियान नै चलाएपछि अरुले पनि गाई पाल्ने सोच बनाएको पशु सेवा केन्द्र ठाडाका पशु चिकित्सक शोभाखर ज्ञवालीले बताए । यस क्षेत्रमा डाले र भुँई घास प्रशस्त रहेको र बजारको लागि बुटवल कपिलवस्तुको गोरुिसंगे चन्द्रौटा र पथ्थरकोट बजार नजिक भएकाले पशुपालनको दीर्घकालिन भविश्य राम्रो छ । उनले केन्द्रबाट गोठ सुधारको लागि ४५ हजार क्यान र चिलिम भ्याट उपलब्ध गराईने पनि बताए ।


जिल्लामा अहिले जर्सी गाईपालनको लहर चलेको छ । तीन वर्ष अघि लुम्बिनी सामाजिक विकास केन्द्रले परीक्षणका लागि किमडाँडाका किसानलाई गाईपालनमा लगाएको थियो । अहिले गाईपालनमा जिल्लाले निकै फडको मारेको छ । किमडाँडामा ३० वटा बाट शुरु भएको गाईपालन अहिले १ सय २० सम्म पुगेको छ । यहाँबाट दैनिक १ हजार लिटर दुध सन्धिखर्कका ३ वटा डेरी उद्योगमा ३० रुपैयाँ लिटरमा बिक्री भैरहको छ । पुष्करनाथ गणेश र कमल बाजाडेले १५ वर्ष देखी गर्दै आएको व्यावसायिक तरकारी खेतीलाई छाडेर गाई पाल्न थालेका छन । तीन वर्ष देखि पाल्न शुरु गरेको गाईको संख्या अहिले १० पुगेको छ जसमध्ये ७ वटा दुहुना छन ३ वटा ब्याउने तयारीमा छन कमल भन्छन तरकारीको दररेट घटबढ हुने कुहिने रोग लाग्ने समस्याले दुःख गरेजति आम्दानी हुदैन । गाई सजिलो दुधको रेट बाह्रैमास एउटै भएकाले यता मन लोभियो उनले भने वर्षमा ६ लाख रुपैयाँ बैंक बचत भएको छ । कतारमा चार वर्ष बिताएका मेघराज बाजाडे २ वटा जसीगाई र २ वटा भैसी पालेर एक वर्ष देखि  मासिक १८ हजार रुपैयाँ अँम्दानी गरेका छन । द्धन्द्धको बेला घरमा बस्न नसकेर विदेसिएँ खासै सन्तोष भएन उनले भने अब गाईको संख्यालाई बढउने सोचमा छु विदेश गएको बेला बाँझिएका बारी कोर्दैछु ।


 किमडाँडाका ७० कृषकले जर्सी गाईको दुधबाट मासिक १० देखि ५० हजारसम्म आम्दानी गरेपछि गाउँ परिवतर्न भएको केन्द्रका अध्यक्ष ईन्द्रमणी पौडेलको भनाई । यस गाउँका १० जना युवा विदेश जान छाडेर गाई पाल्न शुरु गरेका छन । दुधको माग अत्यधिक छ सदरमुकामै थामिनसक्नु छ लक्ष्मी गाई पालन समुहका अध्यक्ष गणेश बाजाडेले भने बुटवलका डेरीले दैनिक १४,१५ हजार लिटर दुध पठाईदिन भनेर माग गरेका छन । भगवती गाविसमा पनि गाईसँगै मुर्रा भैसी पालन व्यावसाय फस्टाउँदै गएको छ । यहाँका ३५ कृषकले दुध उत्पादन गरेका छन भगवती भैसी-गाई पालन समुहका टोपलाल पाण्डेले भने मासिक ५ देखी १५ हजारसम्म एक कृषकले आम्दानी गरेका छन । यहाँबाट उत्पादित हुध तम्घासका डेरी उद्योगमा जान्छ । पटैतीका ३ सय कृषकले दुध उत्पादन गर्ने र एक कृषकले मासिक ५ देखी १० हजार रुपैयाँ आम्दानी गर्ने गरेको गाविस सचिव लक्ष्मी घिमिरेले बताईन ।


जिल्ला पशु सेवा कार्यालय प्रमुख डा। गोपाल गिरिले ३ वर्षको अविधीमा गाई, भैसीपालनमा फड्को मारेको बताए । जिल्लाका डेरी उद्योगमा ३ हजार लिटर आउने गरेका छ । डेरी बाहेक बजारमा कृषकले बिक्री गर्ने दुध ५ हजार लिटर रहेको अनुमान छ । जसमध्ये भगवती गाविसबाट २ सय ५० लिटर दुध गुल्मीको तम्घास किमडाँडा सहित सदरमुकाम नजिकैको गाउँबाट ८ सय लिटर सदरमुकामका ३ वटा डेरी उद्योग र पटैतीबाट १ हजार लिटर दुध पाल्पा तानसेनको गोरस घर हुदै पोखराको सुजल डेरी उद्योगमा जाने तथ्याङ्क पशु सेवा कार्यालयमा छ । जिल्लामा ७ वटा गाई-भैसीपालन समुहका ३५० जना कृषकले व्यावसायिक पशुपालन गरी दुध बिक्रीबाट मासिक ५ देखी ५० हजार रुपैयाँसम्म आम्दानी लिनका छन । उत्पादन बढाउन तीन वर्षदेखी कृत्रिम गर्भाधान शुरु गरिएको छ । साउन देखी मंसिरसम्म २ सय ५० वटा गाई-भैसीलाई कृत्रिम गर्भाधान गरिएको छ । डा.गिरीका अनुसार २०६५ सालमा सदरमुकामका होटलमा १२ बजेपछि दुध राखेको चिया खान पाईदैनथ्यो ३ वर्षको अवधीमा दुध उत्पादनमा वृद्धि भयो । एक साता भित्र ६० वटा दुहुना हलिस्टिन र जर्सी गाई ल्याईदैछ उनले भने कार्यालयबाट गोठ सुधार र ढुवानीको लागि ३ लाख रुपैयाँ छुटाईएको छ ।


गाउँ-गाउँबाट गाई पाल्नको लागि माग धेरै भएको छ । २०६५ सालमा पशु सेवा कार्यालयले सुपा देउराली डेरी उद्योग स्थापना गरेपछि पशुपालनमा वृद्धि भएको हो । सुविधा खोज्दै शहरमा बसाई सराई गर्ने रोजगारको लागि पुरुषहरु विदेशिएपछि गाउँका खेतवारी ५० प्रतिशत बाँझिएको कृषि विकास अधिकत यमनारायण देवकोटाले बताए । उनले द्धन्द्धको बेला यस्तो समस्या आएपछि पछिल्लो पटक केही युवाहरु पुन फर्केर बाँझिएका आफनै बारी र भाडामा लिएर पनि कृषि र पशुपालनमा लागेको उनले बताए ।

 

 

Editor’s Note: यो समाचार पून: प्रकासित गरिएको छ।  )

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.