इरानद्धारा परमाणु संयन्त्रको सुरक्षाका लागि सैन्य अभ्यासको तयारी

ईरान परमाणु संयन्त्रको सुरक्षाका लागि नयाँ योजनासहित तयार


इरानले परमाणु संयन्त्रको सुरक्षाका लागि सैन्य अभ्यासको तयारी गरेको खुलेको छ । यसका लागि उसले सैन्य बिमान र मिसाईलसमेत प्रयोगमा ल्याएको खबरहरुमा उल्लेख छ । राष्ट्रिय हित विपरित अरु राष्ट्रले हस्तक्षेप गरे कडा कारबाही गर्ने चेतावनी पनि इरानले दिएको छ । ईरानी सेनाका उपाध्यक्ष मोहमद हेजाजीले शत्रु राष्ट्रको सामना गर्न ईरान नयाँ योजनासहित तयार रहेको जनाएका हुन् ।


परमाणु संयन्त्रमा २० प्रतिशत सम्बर्धित युरेनियम रड्स जडानका लागि ३ हजार नयाँ सेन्ट्रीफ्युज लगाउने घोषणा इरानले गरेलगत्तै मध्यपूर्वमा तनाव बढेको थियो । अहिले राष्ट्रसंघीय परमाणु उर्जा एजेन्सीको उच्चस्तरीय टोली परमाणु कार्यक्रमबारे छलफल गर्न इरानमै छ । ईरानी परमाणु कार्यक्रमप्रति विश्व समुदाय चिन्तित रहेका बेला उक्त टोलीलाई इरानको मुख्य आणबिक सुरक्षा केन्द्रको निरीक्षण गर्न अनुमति नदिइएको बताइएको छ ।


इरान परमाणु कार्यक्रम उचित भएको अडानमा छ भने अमेरिकासहितका पश्चिमा राष्ट्र ईरानी परमाणु कार्यक्रम अनधिकृत भन्दै बिरोधमा छन् ।