अफगानिस्तानमा नेटो सेनाले सैन्य शिविरमा मुसलमानहरुको पवित्र ग्रन्थ कुरान जलाएको विरोधमा प्रदर्शन

अफगानिस्तानमा नेटो सेनाले अमेरिकी सैन्य शिविरमा मुसलमानहरुको पवित्र ग्रन्थ कुरान जलाएको विरोधमा आज पनि प्रदर्शन भएको छ ।

 

प्रदर्शनले हिसात्मक रुप लिंदा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने अरु धेरै घाइते भएका छन् । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नुका साथै अमेरिकाको झण्डा जलाएका छन् । यसै विषयमा हिजो भएको प्रदर्शन चर्किंदा ८ जनाको मृत्यु भएको थियो । प्रदर्शन चर्कदै गएपछि अफगान राष्ट्रपति हमिद कारजाई आदिवासी नेता र राजनीतिक दलका नेताहरुसंग छलफलमा जुट्नु भएको छ ।

 

उता, तालिवानले पश्चिमा सैनिकहरुले कुरानको अपमान गरेको भन्दै बदला स्वरुप पश्चिमाहरुलाई पिट्न र मार्न अफगान जनतालाई आह्वान गरेका छन् ।

 

तालिवान प्रवक्ताले पश्चिमाहरुलाई पाठ पठाउन भन्दै प्रदर्शन जारी राख्न समते आग्रह गरेका छन् । अमेरिकी रक्षामन्त्री लियोन पेनेटा, अफगानिस्तानस्थित नेटो र अमेरिकी कमाण्डरहरुले गल्तीले कुरान जल्न पुगेको भन्दै माफी मागिसकेका छन् । तालिवानी बन्दीहरुले सन्देश प्रवाह गर्न कुरानको प्रयोग गरेको भन्दै अमेरिकी सैन्य शिविरमा जलाइएको कुरानका टुक्राहरु स्थानीय मजदुरहरुले फेला पारेपछि विरोध शुरु भएको थियो ।

 

गत वर्ष मात्र फ्लोरिडामा अमेरिकी पादरीले कुरान जलाएपछि अफगानिस्तानमा फैलिएको विरोध प्रदर्शनमा २४ जना मारिएका थिए ।