सम्मेलन पछि जारी घोषणा पत्रमा विदेशमा रहेको सिरियाको सम्पत्ति प्रयोग र तेल व्यापारमा रोक लगाउने निर्णय गरिएको उल्लेख छ । यस्तै सम्मेलनले सिरियासंग कुटनीतिक सम्बन्ध कम गर्ने र हतियार निर्यात बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकमा चीन र रुसले भने भाग लिएका थिएनन् । बैठकपछि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले संयुक्त राष्ट्रसंघमा सिरियाको निन्दा गर्ने प्रस्तावको चीन र रुसले विरोध गर्नु घृणित भएको बताउनु भयो । यसअघि राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानलाई संयुक्त राष्ट्रसंघ र अरब लीगले सिरियाका लागि विशेष दूत नियुक्त गरेका थिए ।
यसैबीच ट्युनिसिया सम्मेलन लगत्तै हिंसाको चपेटामा परेको सिरियाको होम्स् शहरमा फसेका महिला , बालबालिका र र घाईतेहरुलाई रेडक्रसले उद्धार गर्न शुरु गरेको छ । उद्धार गरिएकाहरुमा घाइते सञ्चारकर्मी पनि रहेको बताइएको छ । सिरियामा राष्ट्रपति असादको शासनविरुद्ध झण्डै एक वर्षदेखि भइरहेको विद्रोहमा हजारौं मानिस मारिइसकेका छन् ।