पाकिस्तानको ऐवोटावादमा अलकायदा प्रमुख ओसामा बिन लादेन लुकेर बसेको घर भत्काउन शुरु

पाकिस्तानको ऐवोटावादमा अलकायदा प्रमुख ओसामा बिन लादेन लुकेर बसेको घर भत्काउन शुरु गरिएको छ ।

 

रातको समयमा घर भत्काउनु अघि सुरक्षाकर्मीले घरसम्म जाने बाटो बन्द गराएको र त्यस क्षेत्रमा कफ्र्यू जस्तो स्थिति बनेको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घर भत्काउन बुल्डोजरको प्रयोग गरिएको छ ।

 

पाकिस्तानी अधिकारीहरुले भने घर भत्काइएको विषयमा जानकारी दिन अस्वीकार गरेका छन् । लाहौर नजिकको सैनिक शिक्षालय रहेको एवोटावाटको यो.घरमा अमेरिकाले सर्वाधिक खोजी गरेको लादेन पाँच बर्षसम्म आफ्नो परिवारसँग बसेका थिए ।

 

लादेन लुकेर बसेको घरको चारैतिर रहेको खाली जमीनमा निकै ठूलो कम्पाउण्ड लगाइएको थियो । गत वर्ष मे महिनामा ऐवोटावाटको यही घरमा लादेन लुकेर बसेको अबस्थामा अमेरिकी विशेष सैन्य दस्ता नेभी सिलले उनलाई मारेको थियो । घटना लगत्तै पाकिस्तानले आफ्नो सम्प्रभुतामाथि आक्रमण भएको भन्दै विरोध जनाएको थियो । त्यसयता अमेरिका र पाकिस्तानको सम्बन्धमै चिसोपना बढेको छ ।