अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमै आफ्ना दुई उच्च अमेरिकी सैन्य अधिकारी मारिएपछि नेटोले आफ्ना सबै कर्मचारी फिर्ता

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमै आफ्ना दुई उच्च अमेरिकी सैन्य अधिकारी मारिएपछि नेटोले आफ्ना सबै कर्मचारी फिर्ता बोलाएको छ ।

 

यी कर्मचारीहरु अफगानिस्तान सरकारको सल्लाहकारको रुपमा कार्यरत थिए । आक्रमणकारीले राजधानी काबुलको अत्यन्तै सुरक्षित मानिएको उक्त मन्त्रालय भित्रै पसेर गोली हानेको थियो । नेटोले गोली चलाउने व्यक्तिको पहिचान भएको जनाए पनि स्थानीय सञ्चारमाध्यमहरुले आक्रमणकारी अफगान प्रहरी भएको बताएका छन् । तालिवानले आक्रमण आफुहरुले गराएको दाबी गरेको छ । आक्रमण लगत्तै मन्त्रालय बन्द गरिएको छ ।

 

अफगानिस्तानमा पछिल्लो पाँच दिनदेखि अमेरिकी सेनाले मुसलमानको पवित्र ग्रन्थ कुरान जलाएकोमा चर्को विरोध भैरहेका बेला यो आक्रमण भएको हो । कुरान जलाएकै विरोधमा हिजो कुन्दुज शहरमा संयुक्त राष्ट्रसंघको स्थानीय कार्यालयमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् ।

 

घटनामा हिजो मात्रै चार जना मारिएका छन् । प्रदर्शनकारीले कुरान जलाउने अमेरिकी सैनिकमाथि कारवाहीको माग गरेका छन् । मंगलवार यताको विरोध प्रदर्शनमा ३० जना मारिइसकेका छन् ।