आतंकवादी सञ्चाल अल कायदाका शिर्ष नेता सेफ अल एडेन इजिप्टको कायरो विमानस्थलमा पक्राउ

अलकायदाका शीर्ष नेता ईजिप्टको कायरो विमानस्थलमा पक्राउ



आतंकवादी सञ्चाल अल कायदाका शिर्ष नेता सेफ अल एडेन इजिप्टको कायरो विमानस्थलमा पक्राउ परेका छन् । इजिप्सियन सुरक्षा अधिकारीहरुका अनुसार उनी पाकिस्तानबाट दुवई हुंदै कायरो गएका थिए ।

 

उनको वास्तविक नाम मोहम्मद इब्राहिम मक्कावी भएको बताइएको छ । इजिप्सियन नागरिक एडेनले ओसामा बिन लादेनको सुरक्षा प्रमुखमा रहेर काम गरेको र अल कायदाको सैन्य कारवाहीमा महत्वपूर्ण भूमिका निभाएको बताइएको छ ।

 

सन् १९९८ मा पूर्वी अफ्रिकामा अमेरिकी दुतावासमा गरिएको आक्रमणपछि अमेरिकाले उनको खोजी गरिरहेको थियो । अफगानिस्तानमा सन् २००१ मा अमेरिकी सैन्य अभियान थालिएपछि उनी लादेनका छोरा साद बिन लादेनसंगै इरान भागेको विश्वास गरिएको छ ।

 

इरानमा उनीहरुलाई इरानको इस्लामिक रिभोलुसनरी गार्डले नजरबन्दमा राखेको पनि विश्वास गरिंदै आएको थियो । एडेनको गिरफ्तारीले अलकायदा संजाललाई ठूलो झड्का लाग्ने विश्लेषण गरिएको छ ।