अफगानिस्तानमा कुरान जलाईको घटना पछि भड्किएको हिंसाले नेटो मिशनमा धक्का

अफगानिस्तानको नेटो मिशनमा धक्का


अफगानिस्तानमा नेटो गठबन्धन सेनाका प्रमुख जनरल जोन एलेनले अमेरिकी सैन्य शिविरमा कुरान जलाईको घटना पछि भड्किएको हिंसाले नेटो मिशनमा धक्का लागेको बताउनु भएको छ ।

 

बीबीसीसंगको कुराकानीका क्रममा जनरल एलेनले घटनाबाट नेटो मिशन चांडै सामान्य बन्ने विश्वास व्यक्त गर्नु भयो । उहांले अफगान सुरक्षाकर्मीसंग नेटोको समन्वय भने रहिरहने बताउनु भयो । गत हप्ता अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमै नेटोका दुई उच्च अमेरिकी सैन्य अधिकारी मारिएका थिए ।

 

 

आक्रमणकारीले राजधानी काबुलको अत्यन्तै सुरक्षित मानिएको उक्त मन्त्रालय भित्रै पसेर गोली हानेका थिए । घटना लगत्तै नेटोले आफ्ना सबै कर्मचारी फिर्ता बोलाएको थियो ।

 

अमेरिकी सेनाले मुसलमानको पवित्र ग्रन्थ कुरान जलाएकोमा विरोध भैरहेका बेला यो आक्रमण भएको हो । यता अमेरिकी राष्ट्रपति बाराक ओबामा भने यो घटना पछि पनि अमेरिकाले तय गरेको समयतालिका अनुसार नै अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फर्कनेमा विश्वस्त रहेको बताइएको छ ।