उत्तर कोरियाले अमेरिकासँगको वार्तापछि युरेनियम सम्वद्र्धनलगायत आणविक र लामो दुरीको मिसायल परिक्षण स्थगन गर्न सहमति जनाएको छ ।
अमेरिकी विदेश विभागले प्योङयाङले संयुक्त राष्ट्रसंघको अनुगमनकर्तालाई योङव्योङमा रहेको रियाक्टर निरिक्षण गर्न पनि अनुमति दिएको जनाएको छ । यो सहमतिको बदला अमेरिकाले उत्तर कोरियालाई करिब २ लाख ४० हजार टन खाद्यान्न सहयोग गर्नेछ ।
सन् १९९० मा खाद्यान्न अभावका कारण भोकमरीको चपेटामा परेपछि उत्तर कोरिया आफ्ना जनतालाई खाद्यान्न उपलब्ध गराउन विदेशी सहयोगको आशमा रहेको थियो । उत्तर कोरयाका दिवंगत नेता किम जोङ इलका छोरा किम जोन उनले सत्ता सम्हालेको दुई महिनापछि अमेरिकासँग यो सहमति भएको हो । यसले उत्तर कोरियाको परमाणु कार्यक्रमको विषयमा सन् २००९ मा ६ पार्टी सम्मिलित अवरुद्ध वार्ता शुरु हुनसक्ने अनुमान गरिएको छ ।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले दुई मुलुकबीचको सहमतिको स्वागत गर्दै उत्तर कोरियाप्रति अमेरिकाको महत्वपूर्ण चासो रहेको बताउनु भयो । यो सहमति सही दिशामा अगाडि बढ्ने मध्यमार्गी पहिलो कदम हो उहाँले भन्नुभयो । उत्तर कोरियाले भने सहमतिबाट अमेरिकासँगको सम्बन्ध सुधार गर्ने विश्वासिलो आधार बनेको जनाएको छ ।