पर्वतीय देशहरूको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

पर्वतीय देशहरूको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे विश्वको ध्यान आकृष्ट गर्ने उद्देश्यले आगामी अप्रिल पाँच र छ तारिख सम्मेलन हुन लागेको वातावरण मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा रहेको एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोगमा वातावरण मन्त्रालयले आयोजना गर्न लागेको सम्मेलनमा 55 देशका सम्बन्धित मन्त्री र विशेषज्ञहरूको सहभागिता रहने छ ।


सम्मेलनमा जलवायु परिवर्तनले पर्वतीय देशमा पारेका असरको सामूहिक समाधान खोज्नेबारे छलफल भई काठमाडौं घोषणापत्र जारी गरिने छ ।

साथै सम्मेलनमा विश्वका चार हजार मिटरमाथिका पर्वत भएका देशहरूको सहभागिता रहने छ ।