बैतडीमा घरायसी विवादमा ढुंगाले हिर्काउँदा बाबुको मृत्यु

– खगेन्द्र अवस्थी

 

बैतडी – बाबु-छोरा बीच घरायसी विवादमा घाइते बाबुको उपचारका क्रममा मृत्यु भएको छ ।

देहिमाण्डौं-५ चौसेरगाउँका ६० वर्षीय जयराम लावडको आइतबार साँझ मृत्यु भएको हो ।

बिहान नौ बजे घरायसी विषयमा बाबुले सम्झाउन खोज्दा छोरा राहुलले ढुंगाले हिर्काउँदा गम्भीर घाइते भएका जयरामको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका जयरामको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पताल प्रमुख डा. गुणराज अवस्थीले बताए । राहुललाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय मुद्दा शाखाका सहायक निरीक्षक टेकबहादुर चन्दले बताए ।