सिरियामा तेल तथा खनिज उपमन्त्रीद्धारा सरकार विरोधी प्रदर्शनकारीको समुहमा मिस्सिएको घोषणा

सिरियाई राष्ट्रपति विरुद्धको प्रदर्शनमा तेल तथा खनिज उपमन्त्रीको साथ


सिरियामा तेल तथा खनिज उपमन्त्री अब्दो हुसामेद्दीनले पदबाट राजीनामा दिई सरकार विरोधी प्रदर्शनकारीको समुहमा मिस्सिएको घोषणा गरेका छन् । ५८ वर्षिय हुसामेद्दीनले यु ट्युवमार्फत विद्रोहको घोषणा गर्दै बाथ पार्टी पनि छोडेको जनाएका छन् ।

 

सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्ध एक वर्ष यता भैरहेको प्रदर्शनमा उनको साथ छोड्ने हुसामेद्दीन अहिलेसम्मकै उच्च तहका नेता हुन् । विद्रोहीहरुले उनको राजीनामाको व्यवस्था मिलाएको बताइएको छ । सिरिया सरकारले भने हुसामेद्दीनको राजीनामाको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

 

सिरियामा प्रदर्शनकारीको केन्द्र बन्दै आएको होम्स् शहरमा राष्ट्रसंघको मानवीय सहायता प्रमुख भालेरी आमोसले भ्रमण गरी शहर ध्वस्त भएको जनाए लगत्तै हुसामेद्दीनले विद्रोहको घोषणा गरेका हुन् । आमोसले सेनाको बमबारीका कारण बाबा अमर जिल्ला ध्वस्त हुंदा पूरै बन्द भए जस्तो देखिएको बताएका छन् ।

 

सिरियाली सेनाले गत हप्ता मात्र यो जिल्ला आफ्नो नियन्त्रणमा लिएको थियो । अधिकारकर्मीहरुले सेना शहरमा प्रवेश गरेपछि नरसंहार मच्चाएको दाबी गरेका छन् ।