सिरियाली राष्ट्रपति बशार अल असादले हतियारधारी चरमपन्थी सक्रिय रहेसम्म कुनै वार्ताको पनि अर्थ नहुने बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानसंग दमस्कसमा भएको भेटमा राष्ट्रपति असादले सिरियाको संकट समाधान गर्न हुने जुनसुकै प्रयासलाई भने पूरै समर्थन गर्ने स्पष्ट पार्नुभयो । अन्नान संयुक्त राष्ट्रसंघ र अरब लीगका तर्फबाट सिरियाका लागि विशेष दूतमा नियुक्त भएपछि पहिलो पटक सिरियाली सरकार र विद्रोहीबीच युद्धविराम लागु गराउने प्रयासमा दमस्कस पुग्नु भएको हो ।
अन्नानसंग दुई घण्टासम्म भएको वार्ता सकारात्मक रहेको सरकारी टेलिभिजनले दाबी गरेको छ । असादसंगको भेट पछि कोफी अन्नानले विपक्षी नेताहरुसंग पनि भेट गर्नु भएको छ । अन्नान सिरियामा रहंदा पनि सिरियाली सेनाले भने प्रदर्शनकारी माथिको आक्रमण रोकेको छैन । हिजो मात्रै विभिन्न स्थानमा गरिएको सैन्य आक्रमणमा २८ जना मारिएको प्रदर्शनकारीको दाबी छ ।
यसैबीच कायरोमा सिरियामा जारी संकटका विषयमा अरब लीगका विदेशमन्त्रीहरुको बैठक सम्पन्न भएको छ । बैठकमा रुसले सिरियामाथि बाह्य हस्तक्षेप स्वीकार्य नभएको दोहो-याएको छ । बैठक पछि जारी संयुक्त विज्ञप्तिमा सिरियाका सबै पक्षलाई तुरुन्त हिंसा रोक्न अपील गरिएको छ ।