आयोजनाको हेडरेस सुरुङ निर्माणको क्रममा फैलिएको आगोले गौरीशंकर संरक्षण क्षेत्रको ठूलो भूभागमा क्षेति पुग्दै तिब्बती भूमितर्फ फैलँदै गरेको स्थानीयबासी बताउँछन् । डढेलो नियन्त्रणका लागि खटिएका दुई प्रहरी घाइते अवस्थामा फर्किएको प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।
आगलागीबाट चिन्तित चाइनिज दुतावासका कर्नेल डढेलो नियन्त्रणको उपाय खोज्दै सोमबार कार्य क्षेत्र पुगेका छन् । चाइनामा रहेका सिनो हाइड्रोका प्रोजेक्ट मेनेजर र जेनेरल मेनेजरको टोली अग्नी नियन्त्रण गर्ने साधनसहित लिएर नेपाल आइपुगेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका अधिकृत मधुसुदनप्रताप मल्ले बताए । ‘उनीहरु मंगलबार बिहानै आगलागी क्षेत्रमा हेलिकप्टरबाट पुग्ने कार्यक्रम छ,’ मल्लले भने ।
स्वदेशी लगानीमा बन्ने ४५६ मेगावाटको तामाकोसी आयोजना निर्माणमा खटिएको सिनो हाइड्रोले काम गर्दा आइपरेको प्राकृतिक विपत्तिलाई गम्भीर रुपमा लिएको छ । हेलिकप्टरबाट अग्नी नियन्त्रणको प्रयासका लागि केही उपकरण छ कि भनेर पनि सोधेका थिए । ‘त्यस्तो प्रविधि अहिलेसम्म नेपालमै रहेनछ,’ मल्लले भने ।
आफ्नो त्रुटिले आगो फैलिएकै दिनबाट तत्काल हेलिकप्टर भाडामा लिएर अनेक उपायमा लागेको सिनो हाइड्रोलाई स्थानीयले पनि दबाब दिन थालेकाले उनीहरु थप चिन्तामा छन् । केही स्थानीयले चाइनिज कामदारलाई अभद्र व्यवहार गर्दै क्याम्पको टेलिफोन लाइन काटिदिने, ताला लगाइदिने गर्दै हतोत्साही पार्न थालेका एक कर्मचारीले बताए । सुरुमा आगो नियन्त्रणमा लिनुपर्नेमा अराजकता देखाउँदै हिँड्नेहरूलाई तत्काल कानुनी कारबाही सुरु गर्ने प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले बताए ।
सम्वेदनशील अवस्थामा विपत् नियन्त्रण पहिलो प्रयास हुनुपर्नेमा स्थानीयवासीले विदेशी कम्पनी र विदेशीमाथि अभद्र व्यवहार गर्न थालेकोमा जिल्लास्थित सुरक्षा निकाय चिन्तित बनेको छ । ‘थप प्रहरी बल त्यसतर्फ पठाइसकिएको र डढेलोपछि उत्पन्न समस्या समाधान गर्न सर्वपक्षीय प्रतिनिधिसहित मंगलबार लामाबगर पुग्छौ,’ प्रजिअ भट्राईले भने ।
भिरालो विकट जंगली क्षेत्र भएकाले डढेलो नियन्त्रणमा मानव प्रयास असफल भएको हो । आगो बढ्दै गएको क्षेत्रबाट मानिस र घर पालुवा पशु हटाइसकिएको र क्षेतिबारे एकीन गरी त्यसको पूर्ति गरिने प्रयास भइरहेको बेला कानुन हातमा लिने प्रयास नगर्न प्रजिअ भट्टराईले स्थानीयसँग अनुरोध गरे ।