सिरियामा एक वर्षदेखि चलिरहेको हिंसामा ८ हजार मानिस मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघका अध्यक्ष नासिर अब्दुल अजीज अल नासिरले मारिने ८ हजारमा बढी महिला र बालबालिका रहेको जानकारी दिनुभयो । यो विभत्स जानकारी दिँदै नासिरले सिरिया सरकारविरुद्ध कार्वाहीका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण पनि गराउनुभयो । यसअघि अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले अब सुरक्षा परिषद चुप लागेर बस्न नहुने बताउनुभएको थियो ।
पछिल्लो पटक सिरियाको होम्स शहरमा सरकार समर्थित छापामारले आक्रमण गरी ४७ जना सर्वसाधारणको हत्या गरेका थिए । मारिनेमा २६ जना महिला र २१ बालबालिका थिए । सिरियाको होम्स शहरका प्रत्येक घरमा छापा मारी उनीहरुको हत्या गरिएको बताईएको छ ।
हत्या लगत्तै ती छापामारले केही भवनमा आगजनी समेत गरे । घटनाप्रति दुःख ब्यक्त गर्दै सिरियाली सरकारले भने यसमा सरकार समर्थित कुनै समूहको हात नरहेको दाबी गरेको छ । सिरियाको स्थितिबारे जानकारी लिन राष्ट्रसंघीय शान्तिदूत कोफी अन्नानको दुई दिने भ्रमण सकिए लगत्तै भएको यस आक्रमणप्रति बिश्व समुदायले खेद प्रकट गरेको छ ।