अफगान राष्ट्रपति हमिद कारजाईले ग्रामीण तथा दुर्गम क्षेत्रमा खटाइएका विदेशी सैनिक तत्काल मूख्य शिविरमा फर्काउन माग गर्नुभएको छ ।
सन् २०१३ को अन्त्यबाटै अफगान सैनिकले देशको सुरक्षाको नेतृत्व गर्ने समेत उनले जनाएका छन् । अमेरिकी नेतृत्वको उत्तर एट्लान्टिक सन्धि संगठन नेटो फौजले सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट सबै फौज फिर्ता गर्ने घोषणा गरेको छ ।
तर एक अमेरिकी सैनिकले कान्दाहारको एक गाउँमा गोली हानी १६ सर्वसाधारणको हत्या गरेपछि कारजाईले चाँडै सुरक्षाको नेतृत्व लिने बताएका हुन् । यो हत्याकाण्ड र कुरान जलाइएका घटनाका कारण उत्पन्न समस्या समाधान गर्न अफगानिस्तान पुगेका अमेरिकी रक्षामन्त्री लियोन पनेट्टासँगको वार्तामा कारजाईले अमेरिकी नेतृत्वको फौज गाउँबाट फिर्ता हुनु पर्ने र शिविरलाई अन्तै सारिनु पर्ने बताएका हुन् । कारजाईसँगको भेटपछि पनेट्टाले दुवै पक्ष सन् २०१४ पछि पनि अमेरिकी सैनिकको उपस्थिति सुनिश्चित गर्ने सम्बन्धमा काम हुने विश्वास व्यक्त गरे ।
उता, तालिबानले विश्वास अभिबृद्धिका लागि अमेरिकासँग भइरहेको बर्ता भंग भएको जनाएको छ । तालिवान र अमेरिकाबीच विश्वास अभिवृद्धि गर्न कतारमा कार्यालय खोल्ने र बन्दी आदान प्रदान गर्ने विषयमा वार्ता हुँदै आएको थियो ।
अमेरिकालाई विश्वास गर्न नसकिएकाले वार्ता भंग गर्नु परेको तालिवानले जनाएको छ । क्युवाको ग्वान्टानमो खाडीस्थित अमेरिकी सैनिक शिविरमा रहेका पाँच तालिवान लडाकु र तालिबानले अपहरण गरेको एक अमेरिकी सैनिक साटासाट गर्ने विषयमा वार्ता भैरहेको थियो ।