इरानी बैकहरुलाई अब विश्वभरका बैकिङ नेटवर्कबाट छुटाइने

इरानी बैकहरुलाई अब विश्वभरका बैकिङ नेटवर्कबाट छुटाइने भएको छ । बैकहरुलाई अन्तर्राष्ट्रिय रुपमा भुक्तानीको व्यवस्था मिलाउने संस्था स्वीफ्टले इरानका प्रतिबन्धित बैंकलाई भोलिदेखि यस प्रणालीबाट छुटाइने प्रष्ट गरेको छ । यसबाट इरान वित्तीय रुपमा पनि अफ्ठ्यारोमा पर्नेछ ।

 

इरानको परमाणु कार्यक्रमप्रति असहिष्णु पश्चिमा जगतलाई साथ दिँदै स्वीफ्टले यो निर्णय लिएपछि अब आधिकारिक बाटोबाट पैसा देश भित्रने र बाहिरिने दुबै काम लगभग असम्भव नै हुनेछ । देशबाहिर रहेका इरानीलाई घरमा पैसा पठाउनसमेत मुस्किल पर्नेछ । परमाणु कार्यक्रम तुहाउन युरोपेली संघले इरानमाथि लगाएको प्रतिबन्ध कायमै रहेका बेला यो निर्णय लिइएको हो ।

 

अमेरिका र उसका मित्रशक्तिहरुले इरानले परमाणु हतियार उत्पादन गरेको आरोप लगाएका छन् भने इरानले यसको खण्डन गर्दै आएको छ । बेल्जियममा कार्यालय रहेको स्वीफ्ट अर्थात् सोसाइटी फर वल्र्डवाइड इन्टरबैक फाइनान्सियल टेलीकम्युनिकेसन कै माध्यमबाट विश्वभरका बैकबीच पैसा आदानप्रदान हुने गर्दछ । यसले सबैभन्दा ठूलो मारमा इरानका तेल उद्योग पर्नेछन् । इरानको आम्दानीको मूख्य स्रोत नै तेल बिक्री हो ।

 

 पश्चिमा देशहरुले इरानको तेल खरिदमा प्रतिबन्ध लगाए पनि चीन र भारतले भने अझै यसैसँग तेल लिँदै आएका छन् । यो निर्णयले इरानलाई बाहिरीमुलुकसँग व्यापारिक कारोवार गर्नसमेत निकै कठिन पर्नेछ ।