अमेरिकाले अफगानिस्तानको कान्दाहारमा १६ सर्वसाधरणको हत्या गर्ने अमेरिकी सेना हवल्दार रोवर्ट बालेस भएको जनाएको छ ।
यसअघि अमेरिकाले हत्यामा संलग्न सेनाको विषयमा कुनै विवरण दिएको थिएन । घटना विरुद्ध अफगानिस्तानमा विरोध चर्किए पछि बालेसलाई कुबेत लगिएको थियो । एक उच्च अमेरिकी अधिकारीले ३८ वर्षिय रोवर्ट बालेसविरुद्ध मुद्दा चलाउन कुबेतबाट अमेरिका लैजादै गरेको जानकारी दिएका छन् । बालेसका वकिलले इराकमा रहँदा उनी दुई पटक घाइते भएको बताएका छन् ।
तालिवानले गत आइतवारको घटनालगत्तै शान्ति वार्ताबाट पछि हट्ने जनाइसकेको छ । तर अमेरिकाले भने अफगानिस्तानको शान्ति र मेलमिलाप प्रति प्रतिबद्ध रहेको प्रष्ट गरेको छ ।
अमेरिकीले घटनामा दोषी पाइए रोवर्टविरुद्ध मृत्यदण्डको सजायँ हुनसक्ने जनाएको छ । अफगान संसदले दोषी अमेरिकी सैनिकविरुद्ध अफगानिस्तानमै मुद्दा चलाउन माग गरेको थियो ।