लिवियाको पूर्वी बेनघाजीको साइरेनाइका क्षेत्रलाई अर्ध स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्दै भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । अर्ध स्वायत्त क्षेत्र घोषणाको माग गर्नेविरुद्ध हतियारधारीहरुले आक्रमण गरेको बताइएको छ ।
गत वर्ष लिवियाली शासक कर्णेल गद्धाफीलाई हटाएपछि बेन्घाजीको सुरक्षा जिम्मेवारी लिएका मिलिसियाका लडाकुहरुले आक्रमणकारीलाई लखेटेर स्थिति नियन्त्रणमा लिएको वताइएको छ । स्थानीय आदीवासी नेता र लडाकुहरुले बेन्घाजी आसपासको क्षेत्रलाई गरिंदै आएको उपेक्षा रोक्न अर्ध स्वायत्त क्षेत्र घोषणा जरुरी भएको बताएका छन् । तर विरोधीहरुले देश अविभाजित रहनु पर्ने भन्दै अर्ध स्वायत्त क्षेत्र घोषणा गर्न नसकिने अडान राखेका छन् ।
बेन्घाजीलाई संघ बनाउने राजनीतिक योजना रहेको र यसबाट लिविया तीन स्वशासित क्षेत्रमा विभाजित हुने वताइको छ । हिजो मात्र राजधानी ट्रिपोली र बेन्घाजीमा संघियताविरुद्ध भएको प्रदर्शनमा हजारौं जना सहभागी थिए ।