सगरमाथा आधारशिविर पदयात्रामा जाने नेपाली मजदुरलाई १५० रुपैयाँमै मासुसहित सस्तोमा खाना र बास

काठमाडौं –  ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले सगरमाथा आधारशिविर पदयात्रामा जाने नेपाली मजदुरलगायत सहयोगीलाई सस्तोमा खाना र बास उपलब्ध गराउन ‘पोर्टर सेल्टर’ बनाउने भएको छ।

टानले १ करोड १५ लाख रुपैयाँ लगानीमा सोलुखुम्बुको दिङ्बोचे र जोङ्लामा एक-एकवटा पोर्टर सेल्टर बनाउन लागेको हो। यी दुवै ठाउँ आधारशिविर पदयात्रा मार्गमा पर्छन्।


‘आगामी भदौ १६ गतेबाट दुबै सेल्टर सञ्चालनमा ल्याउने लक्ष्य छ,’ टानका अध्यक्ष महेन्द्रसिंह थापाले आइतबार  भने, ‘सेल्टर बनेपछि पदयात्राका नेपाली सहयोगीले अहिलेभन्दा धेरै सस्तोमा खाना खान र रात बिताउन पाउँछन्।’


सेल्टर बनेपछि पदयात्रा समूहका नेपाली भरिया, गाइडसहित अन्य सहयोगी मजदुरले १ सय ५० रुपैयाँमै मासुसहित एक छाक खाना र एक रात बास बस्न पाउने व्यवस्था मिलाइने थापाले जानकारी दिए। हाल ती क्षेत्रमा होटलमा सादा खाना एक छाकको न्यूनतम साढे २ सयदेखि ३ सय रुपैयाँ पर्छ भने मासुसहित ८ सयजति लाग्छ। पदयात्रा मजदुरलाई राति बिताउने होटल पाउन झनै मुस्किल छ।


‘यति सस्तोमा खान र बस्न पाउनु हाम्रा मजदुर साथीलाई ठूलो राहत हुनेछ,’ उनले भने, ‘सेल्टर बनेपछि सगरमाथा आधारशिविर पदयात्रा क्षेत्रमा खाना र बासको मूल्यमा नियन्त्रण हुने विश्वास छ।’


पदयात्रामा जाने मजुदरलाई दैनिक ज्याला ८ सय रुपैयाँ दिने, मृत्यु भए बिमावापत् ५ लाख र घाइते भए साढे २ लाख रुपैयाँ दिने सहमति टान र कांग्रेस, एमाले तथा माओवादी मजदुर ट्रेड युनियनबीच यसअघि भएको छ।


‘अब दिनको ८ सय पाउने मजदुरले खानामै ३ सय खर्च गरेर के अर्थ?,’ थापाले भने, ‘सेल्टर बनेपछि मजदुरको आम्दानी पनि जोगिन्छ।’ प्रमुख सिजनमा उक्त क्षेत्र भरिभराउ हुने भएका कारण नेपाली मजदुरले खाना र बास नपाएर बिजोग हुने गरेको उनको भनाइ छ।


उनका अनुसार दिङ्बोचेमा १ सय र जोङ्लामा ५० जनालाई सेवा दिन सक्ने गरी सेल्टर निर्माण हुनेछ। सेल्टरमा एउटा ठूलो हल हुने र ६-६ जान सुत्न मिल्ने बेड, एकै पटक ५०-६० जनाले खाना खान मिल्ने डाइनिङ हल, आधा दर्जन शौचालय हुनेछन् भने बिजुलीका लागि सौर्य ऊर्जा जडान गरिने छ।


टानले ‘ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ (टिम्स) कार्डबाट उठेको रकमलाई सेल्टर निर्माणमा उपयोग गर्ने योजना बनाएको छ। यस्तो रकम निकासा गर्न टान अध्यक्ष, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सिइओ) र पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखा प्रमुखको हस्ताक्षर चाहिन्छ।


‘अहिले पर्यटन बोर्डमा सिइओ रिक्त भएकाले रकम निकासा गर्न सकिएको छैन,’ थापाले भने, ‘अब कार्यविधि परिवर्तन गरी कार्यवाहक सिइओबाटै काम गर्न त्रिपक्षीय छलफल भइरहेको छ। यो साताभित्र बजेट निकासा गराएर निर्माण सुरु गर्ने लक्ष्य छ।’ – नागरिक


थापाका अनुसार दिङ्बोचेका होटल सञ्चालकहरूको समूह अल्पाइन क्लब र स्थानीयबासिन्दासँगको सहकार्यमा सेल्टर निर्माण गर्न लागिएको हो। सेल्टर निर्माणको २५ प्रतिशत खर्च क्लबले बेहोर्ने छ। विदेशी दाताले पनि चासो दिएका छन्।